सौर्य सिंचाई प्रणाली महामारीसंग सम्बन्धित संकटलाई सामना गर्नको लागि वरदान सावित भएको छ
२०२०को उदय संगै जनस्वास्थ्य क्षेत्रमा महामारीको रुपमा फैलीएको कोभिड-१९का कारण विश्व अर्थतन्त्रमा २० खर्ब अमेरिकी डलर भन्दा बढीको नोक्सानी ब्योहोर्नुपर्ने प्रक्षेपण गरिएको छ । साथै यसले विश्वव्यापी खाद्द्यान्न परिपुर्तिमा पनि असर पार्ने सहजै अनुमान लगाउन सकिन्छ । यस महामारीबाट सुरक्षित रहनका लागि सावधानी अपनाउने क्रममा र लकडाउनले गर्दा कृषि उपजको उत्पादन र बेचबिखनमा कठिनाई भइरहेको छ । नेपालको कुल ग्राहस्थ उत्पादनमा एक तिहाई योगदान पुर्याउने कृषि क्षेत्र बहुसंख्यक नेपालीको रोजीरोटीको आवश्यकता परिपूर्ति गर्ने प्रमुख क्षेत्र रहेको र अझै रहिरहने यतार्थलाई नकार्न सकिदैन । माहामारीको यो संकटले अर्को भोकमरीको प्रलय ननिम्ताओस् भन्ने अभिप्रायले यस महामारीलाई अवसरको रुपमा लिई कृषिको साख जोगाउनको लागि तत्काल उचित कदमहरु चालिनुपर्ने देखिन्छ ।
नेपालमा बिगत १० वर्षदेखि नवीकरणीय सौर्य उर्जाको क्षेत्रमा काम गर्दै आएको सामाजिक उद्दम कम्पनि घाम पावर नेपालले ग्रामीण किसानहरुको आम्दानी बृद्दी गरी जीवनस्तर उकास्ने हेतुले कृषिको लागि अत्यावश्यक सिंचाईको प्रवन्ध सौर्य उर्जा मार्फत गरिरहेको छ । घाम पावरको सौर्य उर्जा प्रयोग गर्ने उपोभोक्तालाई कृषि गर्नको लागि साथै लगानीको प्रत्याभूतिको लागि निशुल्क कृषि परामर्शपनि प्रदान गरिरहेको छ । उपोभोक्ता किसानहरुको सेवा सुविधालाई उच्च प्रथामिकता दिई कुनै पनि समस्या समयमानै हल गर्न घाम पावरको डिजिटल प्लाटफर्म ‘अफग्रिड बजार’ र टेलिफोनको माध्यमबाट हामी निरन्तर किसानको संसर्गमा रही रहन्छौं साथै आफग्रिड बजार र स्मार्ट मिटरको माध्यम बाट कृषि र सौर्य सिस्टम सम्बन्धि निरन्तर नियमन गर्छौ र आवश्यक अनुसार प्राविधिक एवं कृषि परामर्श प्रदान गर्दछौं । देशको कृषि क्षेत्रलाई नै असर गरिरहेको यो संकटकालीन घडीमा हाम्रा उपोभोक्ताहरुको समस्या बुझ्ने अभिप्रायले उनीहरुको अनुभव सुन्न हामीले उनीहरुसंग विभिन्न माध्यमबाट पुग्ने प्रयत्न गर्यौं ।
कृषकहरुको अनुभव
हालसालै आफ्नो खेतमा घाम पावरमार्फत सौर्य सिँचाई प्रणाली जडान गरेकी ४३ वर्षीय महदी देवी चौधरीले २०७२ सालको भूकम्प लगत्तैको नाकाबन्दीले गर्दा भोगेका दु:ख र कष्टकर अवस्था सम्झिन्छिन । त्यस वेला महदिले पाँच गुणा महँगो दाममा, प्रति लिटर रू ४००को दरले डिजेल किनेर आफ्नो खेतको डिजेल पम्प चलाएर सिँचाई गरेकी थिइन्, अहिलेको अवस्थामा उनको अनुभव विल्कुलै फरक छ । कोरोना भाइरस महामारी र यसले निम्त्याएको बन्दाबन्दिमा पनि सौर्य सिँचाई प्रणालीले डिजेल पम्पमा रहेको उनको निर्भरतालाइ हटाएको छ । लकडाउनभन्दा झन्डै एक महिना अगावै सौर्य सिँचाई प्रणाली जडान गरेर आफुले समयमानै उत्तम निर्णय लिएकोले केही राहत भएको महसुस गर्छिन । अहिले उनी यो खडेरी सकिए संगै नयाँ अन्न बाली लगाउने तरखरमा छिन् र घाम पावरको सौर्य सिँचाई प्रणाली तथा कृषि परामर्श सेवाको सदुपयोग गरी भरपुर फाइदा लिन चाहन्छिन तर उनलाई समयमा नै गुणस्तरीय बिउ र मल नपाउने डर छ । यसका साथै भविष्यमा यही अवस्था रही रह्यो भने आफ्नो उत्पादन कसरी बिक्रि गर्ने भन्ने कुराले उनलाई पिरोलिरहन्छ ।
घाम पावरबाट सौर्य सिँचाई प्रणाली जडान गरेका कंचनपुर, लाल्झाडीका ५४ वर्षीय खडक बहादुर चौधरीले केहि वर्ष यता अतिबृस्टि, अनाब्रिस्टि र यस्ता आइलाग्ने अन्य समस्याहरुमा परिवर्तन भएको महशुस गरेका छन् । उनले नेपालमा उच्च लोडसेडिंग हुने समयमा विजुलीबाट चल्ने पम्पको प्रयोग गर्दथे जसले गर्दा १८ घण्टे लामो लोडसेडिंग हुने समयमा उनको १.५ हेक्टर कृषि फार्म पुरै घाटामा गएको थियो । यस समस्याको समाधानको लागि उनले डिजेलद्वारा चल्ने पम्पको साहारा पनि लिए । नेपालमा ६ महिने लामो नाकाबन्दीमा डिजेलको अभाव र यसको उच्च मूल्य बृद्दिले गर्दा उनको खेतमा सिँचाई हुन सकेन र फल स्वरुप उनको कृषि उत्पादन दुइ-तिहाईले कटौती भयो र निकै घाटा बेहोर्नुपर्यो ।
“अहिले म सिँचाईका लागि आकाशे पानीको पर्खाइमा र डिजलको लाइनमा बसिरहनु पर्दैन किन कि मेरो माछा पोखरीलाई चाहिए जति पानी नियन्त्रण मेरो हातमा भएको रिमोटबाट गर्न सक्छु । साथै मोबाइलमा आएको कृषि परामर्श संदेशको अनुशरण गरी धेरै लाभ्वान्वित हुन सक्छु,” चौधरी भन्छन । तथापी अनिश्चित यस महामारीले गर्दा उनले माछाहरुका लागि दाना पाउन नसकेकोमा चिन्ता व्यक्त गर्छन । अहिले उनले घाम पावरका कृषि परामर्श अन्तर्गत घरमै उपलब्ध अन्न बाट कृक्रिम दाना बनाउने सकिने सम्बन्धि संदेश पाइरहेका छन् तर यहीं स्थिति रहिरहे कहिलेसम्म घरकै खाद्दान्न र अनाजले माछाको लागि आवश्यक दाना पूर्ति गर्ने सम्बन्धि चिन्ता व्यक्त गर्छन ।
“यो समयसम्म त यस महामारीको कारण सिर्जित लकडाउनले मेरो कृषि कर्ममा खासै असर गरेको छैन किनभने मेरो उत्पादन बेच्नका निमित्त तयार भईसकेको छैन तर अनिश्चित यस भयावह स्थितिले निकट भविष्यमा निम्त्याउन सक्ने असरलाई सम्झेर चाहिँ डर लागिरहेको छ,” भन्छन राप्ती सोनारी गाउँपालिका निवासी घाम पावरका अर्का उपभोक्ता तथा ४६ वर्षीय कृषक चिज मानी थारु, जसले बन्दाबन्दी भन्दा करिव एक महिना अगाडी घाम पावरको सौर्य सिँचाई प्रणाली जडान गराएका थिए । उनले अहिले यस खडेरीको सिजनमा पनि सौर्य उर्जा बाट चल्ने पम्पका मद्दतले खेतमा रोपेको तरकारीलाई सिँचाई गरिरहेका छन् र यो उत्पादन बेचेर झन्डै नेरू १,३०,००० /- आम्दानी गर्ने लक्ष्य बोकेका छन् । उनले अब यस खडेरी पश्चात नयाँ अन्न वाली र तरकारी लगाउने तरखर गरिरहेका छन तर उनलाई यस कोरोना कहरका कारण गुणस्तरीय बीउबीज र मल नपाउने चिन्ता छ । उनले सौर्य सिंचाई प्रणाली जडान गर्नु पहिले डिजेल पम्पप्रयोग गर्ने गर्थे । उनी घाम पावर र जनउत्थानलाई यस सौर्य सिँचाई प्रणाली जडान गर्नका लागि लगानी गरिदिएकोमा कृतज्ञता व्यक्त गर्दछन ।
पश्चिम धनगढकी ४८ वर्षीय कृषक शान्ति देवी चौधरीको अनुभव पनि यस्तै चाखलाग्दो छ । सौर्य सिंचाई प्रणाली जडान गर्नु पूर्वको कठिन परिस्थिति सम्झदै उनि भन्छिन, “मेरा श्रीमान १० लिटर डिजेल ल्याउन हप्तामा झन्डै २४ कि.मी. मोटरसाइकलमा यात्रा गर्नु हुन्थ्यो ।,” चौधरी थप्छिन, ” सोलारको पाता राखेर हाम्रो घरको अँध्यारो मात्र हटाउन सकिन्छ भन्ने हामी सोच्थ्यौं । हामीलाई सौर्य उर्जाले पम्प चलाउन सकिन्छ भन्ने नै थाहा थिएन तर घाम पावरले यो प्रणाली हाम्रो खेतमा जडान गरिदिएपछि सिंचाईको लागि कुनै समस्या छैन ।” उनका श्रीमानको मोबाइलमा पठाइने कृषि परामर्शका संदेशहरुले उनीहरुलाई कृषि संग सम्बन्धित निर्णयहरु लिन मद्दत पुगेको उनि व्यक्त गर्छिन । अहिले उनीहरु नयाँ मौसमी अन्न वाली र तरकारी रोप्ने तयारी गरिरहेका छन् । अहिलेको कडा बन्दाबन्दीमा तयार भएको उत्पादनलाई बेच्न दुई छोरीहरुको साहायतामा आफ्ना टोलका घर-घरमा ताजा तरकारी पुर्याईरहेकी छिन् तर उनलाई अर्को सिजनको लागि लागि रोप्नु पर्ने बीउ र मल कसरी पाउने भन्ने चिन्ताले सताईरहन्छ । उनि आफ्ना कृषि कर्ममा सक्रिय भएर लाग्नको लागि यस वर्तमान अन्योल अवस्थाको चाँडो भन्दा चाँडो अन्त्य होस् भन्ने प्रार्थना गर्छिन । यो अवस्थाको अन्त्य भए मात्र सौर्य उर्जा प्रणालीको भरपुर प्रयोग गरी फलाएको उत्पादन बेचेर आएको आम्दानीले घाम पावरको सौर्य सिँचाई प्रणाली जडान गरे वापतको किस्ता भुक्तानी समयमा तिर्न सक्षम हुन चाहन्छिन । सौर्य उर्जा प्रणालीले उनको परिवारको आर्थिक अवस्था सुधार गर्नका लागि सहयोग पुर्याएको छ । यसका साथै उनि यसको उपभोग गर्ने निर्णय गरेकोमा गर्व महशुस गर्छिन ।
सङ्कटसंग जुध्नका निम्ति संयुक्त प्रयास
कोभिड-१९ महामारीले अझ बढी खाद्दान्न अभाव र भोकमरीको अवस्था निम्त्याउने जोखिम रहेको कुरालाई नकार्न सकिदैन, तसर्थ खाद्दवस्तु आपूर्ति शृंखलामा पर्न सक्ने अवरोधलाई समयमा नै कम गरी जीवन्त राख्नको लागि तत्काल पहलकदमी चाल्नुपर्ने अत्यन्त जरुरी देखिन्छ । ग्रामीण किसानहरु पनि अहिले फेसबुक र इमो जस्ता सामाजिक संजालमा सक्रिय रहेका छन् । आफ्नो पहुँच र नयाँ उपोभोक्तामाझ उनीहरुले आफ्नो स्थानीय तह भित्र तोकिएको सावधानी अपनाई आफ्नो उत्पादन सामाजिक संजालको प्रयोग गरी बेच्न सक्ने सुझाव हामीले हाम्रो पहुँचमा रहेका किसानहरुलाई दिईरहेका छौं । कृषकहरुलाई यो समयमा अतिरिक्त उत्पादन भई खेर जाने खाद्दवस्तु र प्रशोधन गर्न मिल्ने खाद्दवस्तुलाई भविष्यमा प्रयोग गर्न मिल्ने गरी प्रशोधन गरी संचित गर्न सल्लाह दिईएको छ । माछा पालक कृषकलाइ एकिकृत माछा पालन गर्ने र घरायसी सामग्री को प्रयोग गरी केही समय धान्नका लागि कृक्रिम दाना बनाउन सुझाएका छौ ।
सौर्य सिचाईको प्रयोगले कोभिड लकडाउनको समग्र असरबाट हुन सक्ने सम्भावित समस्यासंग जुध्न कृषकहरुलाई केहीं हदसम्म मद्दत पुर्याइरहेको भएतापनि समयमा नै कृषिका लागि अत्यावश्यक सामाग्रीको सहज उपलब्धता नहुँदा किसानहरु समस्यामा परिरहेका छन् । उचित बातावरण निमार्णका लागि संघीय, प्रादेशिक र स्थानीय सरकार साथै यो विषयमा सरोकार राख्ने संघसंस्था र नीतिनियम बनाउने सम्पूर्णले बेलैमा उचित निर्णय लिई किसानका समस्या हल गर्न अग्रसर हुनुपर्ने देखिन्छ । कृषि उत्पादनलाई बेच्न सजिलो बनाई कृषकहरुलाई कृषि कार्यमा पुनः शसक्तरुपमा लाग्नको लागि प्रेरित गर्न अझ समस्टिगत र फराकिला नयाँ कदम चाल्न अत्यावश्यक रहेको छ ।
कृषकहरुलाई नैतिक रुपमा सबलीकरण गराई उत्पादनसंग लागिरहन उत्प्रेरित गर्नका लागी उनीहरुको हितमा केहीं आकर्षक प्याकेजहरु ल्याउनु पर्दछ । महामारीले ल्याएको यस कठिन परिस्थितिलाई मध्यनजर गर्दै घाम पावर नेपाल र सौर्य सिंचाई प्रणाली किसानहरु माझ पुर्याउन लगानी गरिदिने वित्तीय संस्थाहरुसंग पहल गरी एक महिनाको लागि नियमित तिर्नुपर्ने किस्ता सारिदिनको लागि पहल भएको छ ।
मौसम परिवर्तन लगायत अन्य विविध समस्यासंग जुधिरहेको हाम्रो कृषि प्रणालीमा अकस्मात आएको यो कोरोना महामारी संकटले कृषिको अत्यावश्यकतालाई अझै थप प्रष्टाइदेको छ र उत्पादन र बिक्रि वितरणको शृंखलालाई जीवन्त राख्न उचित कदम चाल्नुपर्नेमा सजक गराईदिएको छ । नवीकरणीय सौर्य उर्जामा आधारित सोलार पम्पले मौसम परिवर्तनले गर्दा आउने समस्या न्यूनीकरणमा सहयोग गरेको त थियो नै, अहिले हाम्रा किसानहरुको अनुभवको आधारमा यस संकटका बेलामा पनि उत्पादनसंग जोडीरहनको लागि यो प्रविधि वरदान सावित भएको छ ।