के तपाईंले कहिल्यै सोच्नुभएको छ; यदि बालीमा रोगकिरा लाग्ने सम्भावनाको सूचना रोगकिरा लाग्नु आगाडि नै फोनमा पाउनुभयो भने कृषि कति सहज हुन्थ्यो?
या खेतमा वर्षा, असिना, तातो हावा आउनुअघि मौसम पूर्वानुमान सूचना मोबाइलमै थाहा पाउन सकियो भने? अनि यस्तो खडेरीको समयमा पनि हजुरको खेतमा कलकल पानी बगीराखे नी?
कृषकहरुका लागि यस्ता सूचना र सुविधा समयमै उपलब्ध भए कृषकहरुको सबै जस्तो समस्या सामाधान हुने थियो, हैन त?
नेपालको खेतबारीहरूमा दिनरात परिश्रम गर्ने कृषकहरु अझै पनि आकाश हेरेको भरमा मौसम अनुमान गर्नुहुन्छ। त्यस्तै बदलिदो मौसम, रोग किराको प्रकोप, मल बीउ, सिंचाईको अभाव, कृषि प्रसारको पहुँच नहुने जस्ता समस्याहरु कृषकहरुले दिनहुँ भोग्नुपरेको हुन्छ। तसर्थ अहिलेको आवश्यकता ; समयमै सहि सूचना, समयमै सहि सल्लाह, र यी सुविधाहरुको सजिलो पहुँच देखिन्छ।
समस्याहरुको बिचमा सामाधान; DVI परियोजना
कृषिका यस्तै विविध समस्याहरुलाई ध्यानमा राखेर नेपालको कृषि प्रणालीलाई दिगो र जलवायु मैत्री बनाउने उद्देश्यले, Gham Power Nepal ले FAO, Nepal र कृषि सूचना तथा प्रशिक्षण केन्द्र (AITC) र बिभिन्न पालिका सँगको सहकार्यमा Digital Village Initiative (DVI) परियोजना सफलतापूर्वक कार्यान्वयन गरेको छ। यो परियोजना तीन फरक भौगोलिक क्षेत्र; छिन्नमस्ता (सप्तरी), रोङ (इलाम), र कालिन्चोक (दोलखा) पालिकामा सञ्चालन गरिएको हो, जसले तराई, पहाड र हिमाली क्षेत्रका कृषि प्रणालीलाई समेटेर एउटा प्रतिनिधिमूलक अभ्यास प्रस्तुत गरेको छ। परियोजना २०८१ असारदेखि २०८१ भदौसम्म तीन महिनासम्म सञ्चालनमा रहेको थियो। परियोजना २ वर्षसम्मको लागि निरन्तर चल्ने छ ।
DVI परियोजना अन्तर्गत के के काम भयो?
- परियोजना अन्तर्गत हामीले ६ वटा Gham Power Krishi Meter (GPKM) स्थानमा जडान गर्यौं (प्रत्येक पालिकामा २ वटा) जसले तापक्रम, आर्द्रता, पानीको प्रयोग लगायतका जानकारी संकलन गर्छ जसको आधारमा किसानहरूलाई मोबाइलमार्फत आवश्यक सल्लाह दिइन्छ।
- छिन्नमस्ता पालिकामा सोलार वाटर पम्प (SWPS) स्थापना गरिएको छ जसबाट दैनिक ९० हजार देखि १.१ लाख लिटर सम्म पानी सिंचाईमा प्रयोग गर्न सकिन्छ।
- यी उपकरणहरूबाट आएको डाटा AEPC-OGB नामक अनलाइन ड्यासबोर्डमा देखिन्छ, जहाँ कृषि कार्यालय, पालिका, तथा प्राविधिकहरूले कृषकहरुको अवस्थालाई निगरानी गर्न सक्नुहुन्छ ।
- साथै, Super Krishak App र SMS प्रणालीमार्फत कृषकहरुलाई रोग–कीरा सूचना, मौसम पूर्वानुमान, बजार मूल्य, कृषि तालिम र बाली व्यवस्थापनसम्बन्धी जानकारी पनि दिइन्छ।

कृषकको जीवनमा आएको परिवर्तन
परियोजनाले कृषकहरूलाई डिजिटल माध्यमबाट आफ्नो खेतबारीको अवस्था बुझ्न र काम गर्न सजिलो बनाएको छ।
Super Krishak Appको प्रयोगबाट कृषकहरुले सजिलो र सुलभ कृषि तालिम, फोटो खिचेकै भरमा रोग किराको पहिचान, कृषि सल्लाह, मौसम जानकारी जस्ता सुविधाहरु पाउन सक्नुहुन्छ। हालसम्म ५०० भन्दा बढी कृषकहरु यस परियोजनाबाट प्रत्यक्ष लाभान्वित हुनुभएको छ जसमा ६०% युवा र ७०% महिला रहेका छन्।
अहिलेको मौसमी चुनौतीमा परियोजनाको प्रभाव
वर्तमान समयमा तराई क्षेत्रमा खडेरीले कृषि उत्पादनमा ठूलो प्रभाव पारिरहेको छ। पानीको अभावले खेतबारी सुक्न थालेको यो समयमा छिन्नामस्ता पालिकामा जडान गरिएको सोलार वाटर पम्पले वैकल्पिक सिंचाइको सुविधा दिएको छ। किसानहरूले पानीको पहुँच पाएका छन्, जसले उनीहरूलाई यो जलवायु आपत्कालिन अवस्थामा पनि खेती निरन्तर राख्न सघाएको छ।

सोलार पम्प स्थापना भएको ३१६ दिनको अवधिमा १४२ दिन सक्रिय रुपमा प्रयोग गरिएको छ, जसमा ८५२ घण्टा सम्म सञ्चालन भई ८९ लाख लिटर भन्दा बढी भू-जल सिंचाइको लागि पम्प गरिएको छ। सुख्खा महिनाहरूमा पनि पानीको सतह २ देखि १३ फिटको बीचमा स्थिर रहनु अहिले पम्प जडान भएको स्थानमा पानीको सतह राम्रो छ भन्ने सकारात्मक संकेत हो। यो प्रणाली सुरुमा १ देखि २ हेक्टर जमिन सिंचाइ गर्न लक्षित गरिएको भए पनि, किसानहरूले पालो प्रणाली अपनाई ३.५ हेक्टर सम्मको क्षेत्रफलमा प्रभावकारी रुपमा सिंचाइ गर्न सफल भएका छन्। आवश्यकता भन्दा बढी पानी प्रयोग गरिएको अवस्थामा वा पम्प धेरै समय चलेर जमीनमा पानीको सतह घटेको खण्डमा पम्प स्वत: बन्द हुन्छ ।
तालिम अझै जारी छन्…
परियोजनाको प्रमुख बलियो पक्ष भनेकै कृषकहरूको क्षमता अभिवृद्धि हो। अहिले पनि कृषकहरु र पालिकाको माग अनुसार विभिन्न विषयमा अनलाइन तालिमहरू निरन्तर रूपमा सञ्चालन भइरहेका छन्। स्थानीय सन्दर्भअनुसारका कृषि नीति, पोष्टहर्भेष्ट व्यवस्थापन, रोगकिरा व्यवस्थापन। लगायतका विषयहरूमा तालिम संचालन भइरहेको छन् ।
त्यसैगरी, यो पहललाई अन्य पालिकाहरूमा पनि विस्तार गर्दै लगिएको छ। किसानहरूलाई प्रविधि पहुँचमा ल्याउने हाम्रो प्रयास अब सीमित स्थानमा मात्र छैन, हामी अझ धेरै कृषकसम्म पुग्दैछौं।

अबको दिशा: कृषि प्रणालीको डिजिटल रूपान्तरण
DVI परियोजना एउटा सुरुवात मात्र हो, तर यसले नेपालको कृषि प्रणालीलाई आधुनिक, समावेशी र प्रविधिमैत्री बनाउने अपार सम्भावना देखाएको छ। स्थानीय सरकार, सहकारी र कृषि निकायहरूले यस्ता डिजिटल समाधानलाई आत्मसात् गरी आफ्ना क्षेत्रमा विस्तार गर्न सक्नु हुनेछ। यसले नेपालका लाखौं किसानको जीवनमा ठूलो सकारात्मक परिवर्तन ल्याउन सक्नेछ।
Contributed by – Manju Bashyal, Agri Officer